शिक्षा मन्त्रीले उच्च शिक्षा सुधारका लागि कसरी गर्दैछन् नीतिगत र संरचनागत सुधार ?

मंगलबार, असोज २०, २०८३

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले उच्च शिक्षा सुधारका लागि नीतिगत र संरचनागत सुधारको काम भइरहेको बताएका छन्। 

शिक्षा तथा खेलकुद मन्त्रालयद्वारा सिमरामा आयोजित उच्चस्तरीय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले नयाँ ऐन निर्माणसँगै राष्ट्रिय पाठ्यक्रम प्रारूपको कामलाई पनि सँगसँगै अघि बढाइएको बताए।

‘अहिले नीतिगत सुधारमा सक्रिय रूपमा काम गरिरहेका छौँ, नयाँ ऐन निर्माण, पाठ्यक्रम प्रारूप परिमार्जनको चरणमा छौँ तथा सम्पूर्ण विश्वविद्यालयहरूको ऐन निर्माणमा जुटेका छौँ,’ उनले भने, ‘यहाँबाट आएका सम्पूर्ण रायसुझावलाई आगामी नीतिहरूमा समेटिनेमा हामी पूर्ण विश्वस्त छौँ।’

उनले काठमाडौँको कोठामा मात्र बसेर नीति बनाउँदा स्थानीय आवश्यकता छुट्ने भएकोले जनप्रतिनिधि र सरोकारवालासँग प्रत्यक्ष संवाद गरेर धरातलीय यथार्थ बुझ्न खोजेको बताए।

विश्वविद्यालयहरूको सञ्चालन, विस्तार र विशिष्टीकरणमा पनि उनले जोड दिए। ‘धेरै विश्वविद्यालय खोलेर मात्रै हुँदैन, विशिष्टीकृत विश्वविद्यालय बनाउनेतर्फ हाम्रो ध्यान जानुपर्छ,’ उनले भने, ‘१५ वटा विश्वविद्यालय हुँदा पनि सबैले उही पुराना विषय मात्र पढाउने हो भने विश्वविद्यालय खुल्नुको अर्थ रहँदैन।’

सम्बन्धन बाँडेर र जथाभावी विद्यार्थीको सङ्ख्या मात्र बढाएर नतिजा सुधार नहुने उनको भनाइ थियो। शैक्षिक गुणस्तर, सीपमा आधारित प्रविधिमैत्री शिक्षालाई प्राथमिकता दिनुपर्ने खाँचो रहेको उनले बताए। 

प्राविधिक शिक्षा र विद्यालय तहको रूपान्तरणबारे बोल्दै मन्त्री पोखरेलले प्रधानमन्त्रीको चाहना अनुरूप मधेशमा विश्वस्तरीय विद्यालयको अवधारणा अघि सारिएको उनले बताए। ‘ग्राउन्डले मागेको शिक्षालाई जग मानेर शिक्षा क्षेत्रको विकासमा हामी सक्रिय हुनुपर्छ। मधेश प्रदेशमा माध्यमिक तहसम्मका कम्तीमा सय वटा विश्वस्तरीय विद्यालयहरू निर्माण वा रूपान्तरण गर्ने गरी भूगोल, जनसङ्ख्या र विद्यार्थी-शिक्षक अनुपातलाई ध्यान दिएर काम गरिरहेका छौँ,’ उनले भने। 

सीटीईभीटी र नर्सिङ शिक्षामा देखिएका भ्रम तथा समस्याको चर्चा गर्दै उनले भारतमा कक्षा १० पछि नर्सिङ मान्यता नभएको यथार्थ उल्लेख गरे। नेपालमा यसको कोटा तथा सम्बन्धनबारे समस्या नयाँ नेतृत्व र बन्ने नयाँ ऐनमार्फत छिट्टै समाधान हुने उनले बताए।

प्रकाशित मिति: मंगलबार, असोज २०, २०८३  १४:५३
प्रतिक्रिया दिनुहोस्