सोसल मिडिया
युनिकोड
कालीगण्डकी नदी आएको बाढी बस्तीमा पस्दा पर्वतको जलजला गाउँपालिका–८ फर्से बस्तीमा करिब ८० घर बगाएको छ ।
हिजो रातिदेखि बाढी बस्तीमा पस्न थालेपछि स्थानीय सुरक्षित स्थानतर्फ गएको प्रहरीले जनाएको छ । बाढीबाट मानवीय क्षति भए–नभएको भने यकिन हुन सकेको छैन । अन्य घरसमेत उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ ।
बाढीको खबर प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल नं. २५ चण्डिका गण, पर्वत र नेपाल प्रहरीको संयुक्त टोलीले स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ ।
उनीहरूको जिन्सी सामानसमेत सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।
विद्युत् सेवा अवरुद्ध हुनुका साथै फोन सम्पर्कमा समेत समस्या भएकाले क्षतिको यकिन विवरण संकलन हुन नसकेको डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।