सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री वालेन्द्र शाहले मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग टेलिफोनमार्फत छलफल गरेका छन्।
मंगलबार बिहान भएको टेलिफोन वार्तामा नेपाल र मलेसियाबीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री शाहले मलेसियाको रोजगारी क्षेत्रमा रहेको सिन्डिकेट र बिचौलिया प्रथाप्रति आपत्ति जनाउँदै त्यस्ता प्रवृत्ति आफू र आफ्नो सरकारलाई स्वीकार्य नभएको स्पष्ट पारेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार वालेनले श्रमिकलाई आर्थिक तथा अन्य किसिमले मारमा पार्ने अव्यावहारिक र अन्यायपूर्ण प्रवृत्तिको स्थायी समाधानका लागि नेपाल र मलेसियाबीच संयुक्त पहल आवश्यक रहेको बताएका छन्।
‘हामीलाई सिन्डिकेट र बिचौलियातन्त्र मन पर्दैन र यो कुनै पनि हालतमा स्वीकार्य छैन। यसले श्रमिकहरूलाई मारमा पारेको छ,’ प्रधानमन्त्री शाहले मलेसियाली समकक्षीसँग भनेका छन्।
प्रधानमन्त्री शाहले समस्या समाधानका लागि दुवै देशका श्रममन्त्रीबीच प्रत्यक्ष छलफल गराई आवश्यक कदम चाल्न मलेसियाली प्रधानमन्त्रीसँग आग्रह गरेको जनाइएको छ।
‘त्यसैले तपाईंका श्रममन्त्रीलाई हाम्रा श्रममन्त्रीसँग प्रत्यक्ष वार्तामा बस्न र यो समस्या सधैँका लागि हटाउन आवश्यक कदम चाल्न आग्रह गर्दछु,’ वालेनको भनाइ उद्धृत गर्दै सचिवालयले भनेको छ।
प्रधानमन्त्री शाहको आग्रहलाई सकारात्मक रूपमा लिँदै मलेसियाली प्रधानमन्त्री इब्राहिमले पनि आफू सिन्डिकेट र बिचौलिया प्रथाको विरुद्धमा रहेको बताएका छन्।
उनले यस विषयमा मलेसियाका श्रममन्त्रीलाई तत्कालै नेपाली समकक्षीसँग समन्वय गरी ठोस समाधान खोज्न निर्देशन दिने प्रतिबद्धता जनाएका छन्।
‘यस्तो गलत र शोषणकारी परिपाटीको म पनि पूर्ण विरुद्धमा छु। म तुरुन्तै हाम्रा श्रममन्त्रीलाई यस विषयमा नेपाली समकक्षीसँग छलफल गरी ठोस निकास निकाल्न निर्देशन दिन्छु,’ इब्राहिमले भनेका छन्।