चुलाचुलीका दुई भाई हाकिमले ठड्याए घुसको चूली

अख्तियारले विशेषमा पठायो शूली
मंगलबार, साउन २६, २०८३

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलचुली गाउँपालिकामा कार्यरत इन्जिनियर र लेखा अधिकृतविरुद्ध ६ लाख रुपैयाँ घुस लिएको अभियोगमा आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ। 

पुलको डिजाइन स्वीकृत गर्ने र ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने बहानामा सेवाग्राहीसँग घुस लिएको पाइएको भन्दै अख्तियारले उनीहरूविरुद्ध मुद्दा चलाएको हो।

मुद्दा दायर गरिएकाहरूमा चुलचुली गाउँपालिकाका छैठौँ तहका इन्जिनियर डिल्ली राज खड्का र आठौँ तहका लेखा अधिकृत मिलन कुमार भट्टराई रहेका छन्। यसअघि अख्तियारको टङ्गाल र इटहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले इन्जिनियर खड्कालाई सेवाग्राहीबाट ६ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा रङ्गेहात नियन्त्रणमा लिएको थियो।

अख्तियारको अनुसन्धानका क्रममा पुलको डिजाइन, थर्ड पार्टी भेरिफिकेसन तथा ठेक्काको बिल भुक्तानी प्रक्रिया सम्पन्न गराउन इन्जिनियर खड्का र लेखा अधिकृत भट्टराईले आपसी मिलोमतो गरेको खुलेको छ। उनीहरूले भुक्तानीमा सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग मोटो रकम माग गरेको र सोही कार्यमा संलग्न रहेको प्रमाण फेला परेपछि आयोगले कारबाही अघि बढाएको हो।

प्रकाशित मिति: मंगलबार, साउन २६, २०८३  १३:५६
प्रतिक्रिया दिनुहोस्