सोसल मिडिया
युनिकोड
यही भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण रसुवा र नुवाकोटका १२ जलविद्युत आयोजनामा क्षति पुगेको छ । बाढीले निर्माणाधीन ८ र सञ्चालनमा रहेका ४ वटा आयोजनामा ठूलो क्षति पुर्याएको हो ।
रसुवामा सञ्चालनमा रहेका रसुवागढी (१११ मेगावट), चिलिमे (२२) र मैलुङखोला (५) आयोजना क्षतिग्रस्त भएका छन्। परीक्षण चरणमा रहेको लाङटाङ खोला (२०) मा पनि बाढीले ठूलो क्षति पुर्याएको छ। यसैगरी निर्माणाधीन माथिल्लो त्रिशूली-१ (२१६), रसुवा-भोटेकोशी (१२०) बाढीले क्षति पुगेको छ। रसुवामा ६ वटा आयोजनाका ४९४ मेगावट क्षमताका आयोजनामा क्षति पुगेको हो।
नुवाकोटतर्फ सञ्चालनमा रहेका त्रिशूली (२४) देविघाट (१४.१) माथिल्लो त्रिशूली ३ए (६०) र सौर्य (२५ मेगावट क्षमताका आयोजना बन्द भएका छन्। माथिल्लो त्रिशूली ३बी (३७) मिडल त्रिशूलीगंगा १५.५ आयोजना पनि निर्माण पूरा नहुँदै क्षति ग्रस्त भएका छन्।
विद्युत आपूर्ति सेवा पुनर्स्थापना गर्न सान्जेनलाई ‘आइसोलेटेड मोड’मा सञ्चालन गर्ने तयारी
सरकारले रसुवामा तत्कालका लागि साञ्जेन जलविद्युत्गृह (४२.५ र १४.८ मेगावाट) लाई ‘आइसोलेटेड मोड’मा सञ्चालन गर्ने तयारी थालेको छ । नेपाल विद्युत् प्राधिकरणले बाढीका कारण विद्युत् आपूर्ति प्रभावित बनेको रसुवामा सेवा पुनःस्थापना गर्न उक्त तयारी थालेको हो। जिल्लामा सञ्चालनमा रहेका अन्य आयोजना बाढीले क्षतिग्रस्त बनाएपछि स्थानीय विद्युत् प्रणालीलाई छुट्टै सञ्चालनमा ल्याएर प्रभावित क्षेत्रमा आपूर्ति पुनःस्थापना गर्न लागिएको हो।
जिल्लाको तल्लो भागमा भने विद्युत सेवा सञ्चालनमा आइसकेको छ। ६ दिनदेखि रसुवाको विभिन्न क्षेत्रमा विद्युत सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ । लामो समयसम्म बत्ती नहुँदा स्थानीयवासीका मोबाइल फोन अफ भई आफन्त तथा बाहिरी संसारसँगको सम्पर्कबाट विच्छेद हुनुपरेको छ । जेनेरेटर प्रयोग गरेर जिल्ला सदरमुकामसहित विभिन्न स्थानमा मोबाइल चार्ज गर्ने व्यवस्था गरिएको छ ।
बाढीले क्षति गरेका आयोजनाहरूको लागत १ खर्ब ४५ अर्ब बढी
बाढीका कारण रसुवा र नुवाकोटमा क्षति गरेका जलविद्युत आयोजनाको लागत १ खर्ब ४५ अर्ब बढी रहको छ। आयोजनाको निर्माण लागत एक खर्ब ४५ अर्ब ४७ करोड रुपैयाँ रहेको छ।