सोसल मिडिया
युनिकोड
गोरखाको चुमनुब्री गाउँपालिका– ७, छेकम्पारमा सोमबार बिहान पहिरो गएको छ । पहिरोका कारण बुढीगण्डकी नदी थुनिन सक्ने जोखिम रहेको भन्दै नदी आसपास तथा तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
सोमबार बिहान १०ः१० बजे छेकम्पारमा पहिरो गएको र त्यसका कारण बुढीगण्डकी नदी थुनिन सक्ने प्रारम्भिक सूचना प्राप्त भएको गृहमन्त्री सुधन गुरुङको सचिवालयले जारी गरेको सूचनामा जनाइएको छ ।
नदी थुनिएर पानी जम्मा भएमा बाँध फुट्न गई तल्लो तटीय क्षेत्रमा अचानक ठूलो बाढी आउन सक्ने जोखिम रहेको सूचनामा उल्लेख छ । सम्भावित जोखिमलाई ध्यानमा राख्दै बुढीगण्डकी नदी आसपास तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई खोला किनारमा नजान र सम्भव भएसम्म सुरक्षित तथा अग्लो स्थानमा जान आग्रह गरिएको छ ।
यो प्रारम्भिक सूचना भएकाले स्थानीय प्रशासन तथा सुरक्षा निकायबाट जारी हुने आधिकारिक सूचनालाई प्राथमिकता दिनसमेत आग्रह गरिएको छ । विपद् आपतकालीन सम्पर्कका लागि राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्र (NEOC) को टोल–फ्री नम्बर १२३४ मा सम्पर्क गर्न भनिएको छ ।