सोसल मिडिया
युनिकोड
यही भदौ १० गते आएको रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी सहायक हबलदार दीपेन्द्र विष्टको शव भेटिएको छ।
पाल्पाको तानसेन नगरपालिका–१० घर भई इलाका प्रहरी कार्यालय टिमुरे, रसुवामा कार्यरत ३४ वर्षीय विष्ट बाढीपछि बेपत्ता भएका थिए।
त्रिशूलीले बगाउँदै लगेको अवस्थामा उनको शव गोरखामा फेला परेको हो। विष्टको शव व्यवस्थापनका लागि पोखरा महानगरपालिका–१० रामघाटस्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको थियो।
शनिबार परिवारका सदस्यले उनको शव पहिचान गरेर अन्त्येष्टिका लागि घर लगेका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए। उनका अनुसार मृतक विष्टका दाजु दीपकबहादुरले शवको सनाखत गरेका हुन्।
रसुवा बाढीपछि विभिन्न जिल्लामा भेटिएका १०२ शव पोखरा ल्याइएको छ। शनिबार साँझसम्म ५० शवको परीक्षण सकिएको र १२ वटाको पहिचान भएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताए।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शव पहिचानका लागि बाढीमा बेपत्ता भएकाहरुका परिवारजन आउने क्रम बढेको छ। प्रतिष्ठानमा शव पहिचानका लागि स्क्रिनमा तस्बिर हेर्ने व्यवस्था मिलाइएको छ।