सोसल मिडिया
युनिकोड
सरकारले फोरेन्सिक जाँच तथा शव व्यवस्थापनका लागि छिमेकी मित्रराष्ट्रहरूसँग विशिष्ट प्राविधिक सहयोग मागेको छ। शनिबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री शिशिर खनालले विपद् प्रभावित सुरुङभित्र फसेकाहरूको उद्धार, जीवित व्यक्ति पत्ता लगाउने प्रविधि, फोरेन्सिक जाँच तथा शव व्यवस्थापनका लागि छिमेकी मित्रराष्ट्रहरूसँग विशिष्ट प्राविधिक सहयोग माग गरिएको जानकारी दिए।
उनले भारतबाट ११ सदस्यीय सुरुङ उद्धार प्राविधिक टोली परिचालित भइसकेको र चीनबाट पनि उद्धार टोली छिट्टै आइपुग्ने जानकारी दिए। मन्त्री खनालले भारतबाट ५७ टनभन्दा बढी राहत सामाग्री प्राप्त भइसकेको र चीन, जापान, अष्ट्रेलिया लगायतका देशहरूबाट आवश्यक सामाग्रीहरू आउने क्रम जारी रहेको उल्लेख गरे।
अन्तर्राष्ट्रिय दूतावासहरूसँग समन्वय गरी पर्यटकका परिवारलाई सूचना दिने र शव पहिचान तथा फिर्ता पठाउने प्रक्रिया सहज बनाइएको मन्त्री खनालको भनाई छ।
मन्त्री खनालले बाढी आएको स्थानभन्दा तल्लो तटीय क्षेत्रमा पानी जमेर बनेको ताल र त्यसबाट हुनसक्ने सम्भावित जोखिमबारे दुवै देशको प्राविधिक समन्वयमा निरन्तर निगरानी भइरहेको समेत बताए। बाढीको प्रभाव निश्चित क्षेत्रमा मात्र सीमित रहेकाले नेपालका अधिकांश प्रमुख पर्यटकीय गन्तव्यहरू पूर्णतः सुरक्षित र खुला रहेको उनको भनाई छ।
परराष्ट्रमन्त्री खनालले विपद्बाट भएको ठूलो क्षतिको पुनर्स्थापना तथा पुनर्निर्माणका लागि नेपालले अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था रहेको बताए। उनले नेपालले अन्तर्राष्ट्रिय सहयोग अस्वीकार गरेको भन्ने सञ्चारमाध्यममा आएका समाचारप्रति आपत्ति जनाए। परराष्ट्रमन्त्री खनालले भने, 'नेपालले विदेशी सहयोग अस्वीकार गरेको भन्ने समाचारहरू पूर्ण रूपमा निराधार र झुटा भएको दाबी छ।'