बाढी प्रभावित रसुवा र नुवाकोटलाई १-१ करोड, धादिङलाई ५० लाख

बुधबार, भदौ १०, २०८३

रसुवाको भोटेकोशीमा आएको बाढी प्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्धारका लागि सरकारले जिल्ला विपद् व्यवस्थापन समितिमार्फत रकम पठाउने निर्णय गरेको छ।

विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले रसुवा र नुवाकोटलाई १÷१ करोड रुपैयाँ तथा धादिङलाई ५० लाख रुपैयाँ तत्काल उपलब्ध गराउने निर्णय गरेको हो।

उक्त रकम जिल्ला विपद् व्यवस्थापन समितिमार्फत प्रयोग गरिने राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले जानकारी दिए।

उप्रेतीका अनुसार तिब्बतको जिलोङ काउन्टीस्थित डोङलिन छाङ्गो रिभरमा हिमपहिरोपछि नदी थुनिएर बनेको अस्थायी बाँध फुट्दा नेपालतर्फ आएको बाढीले रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा क्षति पुर्‍याएको छ।

बाढीपछि सरकारले उद्धार, राहत तथा खोजी कार्यलाई तीव्र बनाउँदै सुरक्षा संयन्त्र परिचालन गरेको उनले जानकारी दिए।

बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेंसी तथा रसुवागढी क्षेत्रमा ठूलो धनजनको क्षति पुर्‍याएको प्रारम्भिक जानकारी आएको उप्रेतीले बताए।

घटनालगत्तै विपद् कमान्ड पोस्टको बैठक बसेर उद्धार तथा राहतका लागि सुरक्षा संयन्त्र परिचालन गरिएको उनले जानकारी दिए।

उनले भने, ‘अहिले नुवाकोट, रसुवा र धादिङ तीनटै जिल्लाको जिल्ला विपद् व्यवस्थापन समितिलाई आपत्कालीन अवस्थाको लागि रकम पठाउने निर्णय गरेका छौँ । रसुवा र नुवाकोटलाई १÷१ करोड र धादिङ जिल्लामा ५० लाख रुपैयाँ हामी जिल्ला विपद् व्यवस्थापनका माध्यमबाट पठाउँदै छौँ । सरकार यसमा एकदम संवेदनशील छ, सरकार र सरकारको संयन्त्र यसमा लागिरहेको छ ।’

उनका अनुसार बाढीको जोखिमलाई न्युनिकरण गर्न सरकारका सबै संयन्त्र परिचालन गरिएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान प्रणालीमार्फत बिहान ९ बजेर ५ मिनेटमा चितवनसम्मका सम्भावित प्रभावित क्षेत्रमा एसएमएसमार्फत सतर्कता सूचना पठाइएको उनले जानकारी दिए।

बाढीको अवस्थालाई निरन्तर ट्रयाक गर्दै प्रत्येक आधा घण्टामा आवश्यकताअनुसार अलर्ट जारी गर्ने व्यवस्था गरिएको उनले बताए।

उप्रेतीका अनुसार बाढी मलेखु पार गरेर अगाडि बढिसकेको छ । मुग्लिङ बजारसहित त्रिशूली नदीको करिडोरमा बाढीको प्रभाव पर्नसक्ने भएकाले ती क्षेत्रलाई उच्च निगरानीमा राखिएको उनले जानकारी दिए।

बाढीका कारण जल तथा मौसम विज्ञान विभागको एउटा स्टेशनसमेत बगाएको उनले बताए।

पछिल्लो समय माथिल्लो क्षेत्रमा बाढीको सतह घट्दै गएको प्रारम्भिक सुचना आएको पनि उनले जानकारी दिए।

तिब्बततर्फको अस्थायी बाँध कमजोर भएर फुटिसकेकाले माथिबाट आउने बाढीको मात्रा क्रमशः घट्ने अपेक्षा गरिएको उनकाे भनाइ छ।

प्रकाशित मिति: बुधबार, भदौ १०, २०८३  १५:०२
प्रतिक्रिया दिनुहोस्