एमालेका किरण बागमती प्रदेशको नयाँ मुख्यमन्त्री, कुन दलबाट कति मन्त्री ?

बिहीबार, भदौ ४, २०८३

नेकपा (एमाले) का सांसद किरण थापा मगर बागमती प्रदेशको नयाँ मुख्यमन्त्री बन्दै छन्। 

एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थनमा थापाले मुख्यमन्त्रीमा दाबी पेश गरिसकेका छन्। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका थिए। 

यस उपधाराअनुसार, प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेकाले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रिया अघि बढाइएको हो।

यसअघि बागमतीमा नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए। एमालेले सरकारबाट समर्थन फिर्ता लिएपछि बानियाँ नेतृत्वको सरकार अल्मतमा परेको थियो। 

उनले राजीनामा दिएसँगै प्रदेश प्रमुख देवकोटाले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका थिए।

एमालेले आन्तरिक विवादबीच थापालाई मुख्यमन्त्रीमा अघि सारेको हो। एमाले र नेकपाबीच सरकार गठनका लागि सहमति बनेपछि बहुमत पुर्‍याउन राप्रपाको समर्थनसमेत जुटाइएको छ। 

प्रदेश प्रमुख देवकोटाले बिहीबार अपराह्न ४ः०५ बजे थापालाई बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त गर्ने कार्यक्रम तय गरेका छन्। त्यसलगत्तै अपराह्न ४ः२० बजे शपथ ग्रहण समारोह हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। 

योसँगै थापा बागमती प्रदेशको सातौँ मुख्यमन्त्री बन्नेछन्। थापा नेतृत्वको सरकारमा एमालेबाट मुख्यमन्त्रीसहित तीन, नेकपाबाट दुई र राप्रपाबाट तीन जना मन्त्री बनाउने तयारी छ। 

प्रकाशित मिति: बिहीबार, भदौ ४, २०८३  १३:४२
प्रतिक्रिया दिनुहोस्