नयाँ सरकारको नयाँ काम, डिपो सुकाएर ग्याँस बाँड्दैछ धमाधम

आइतबार, साउन ३१, २०८३

काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको समस्या समाधान गर्न नेपाल आयल निगमले विशेष बिक्रीको व्यवस्था मिलाएपछि तोकिएका स्थानहरूमा उपभोक्ताहरूको ठूलो भीड लागेको छ।

आयल निगमको टेकु परिसर लगायतका क्षेत्रमा बिहानैदेखि ग्यास लिन पुगेका उपभोक्ताको लामो लाइन देखिएको छ।

नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालय, काठमाडौँको समन्वयमा ग्यास उद्योगीहरूमार्फत आज आइतबार उपत्यकाका विभिन्न ७ वटा स्थानबाट ग्यास बिक्रीवितरणको व्यवस्था मिलाइएको छ।

नियमित विक्रेताहरूबाट ग्यास पाउन नसकेका अति आवश्यक परेका उपभोक्ताहरूलाई लक्षित गरी यो कदम चालिएको हो। बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म यी तोकिएका स्थानहरूबाट ग्यास खरिद गर्न सकिने व्यवस्था गरिएको छ।

ग्यास खरिद गर्नका लागि उपभोक्ताहरूले अनिवार्य रूपमा आफ्नो नागरिकता वा राष्ट्रिय परिचयपत्र साथमा ल्याउनुपर्ने निगमले जनाएको छ।

वितरण भइरहेका स्थान र ब्रान्डहरू:
निगमको टेकु परिसर: नेपाल, एचपि, एभरेस्ट/सुगम, श्रीराम र सागर
पशु सेवा शाखा (चपली, बूढानीलकण्ठ): नेपाल, एचपि र भानु
राधास्वामी (कीर्तिपुर परिसर): नेपाल, एचपि, एभरेस्ट/सुगम, श्रीकृष्ण, साइबाबा र श्रीमाया
नयाँ बजार (जुडो हल परिसर): नेपाल, एचपि र ओम
तारकेश्वर नगरपालिका परिसर: नेपाल र एचपि
चन्द्रागिरि नगरपालिका कार्यालय: लोकप्रिय, नेपाल, एचपि र श्रीमाया
राष्ट्रिय क्षयरोग केन्द्र (ठिमी): नेपाल, एचपि, सूर्य, सागर, एभरेस्ट/सुगम र एसटीसी

 

प्रकाशित मिति: आइतबार, साउन ३१, २०८३  १५:५३
प्रतिक्रिया दिनुहोस्