पत्रकार किशोर पक्राउको चौतर्फी विरोध, झलनाथ र शेखर पनि रिसाए 

बिहीबार, साउन २८, २०८३

पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गरेका छन्। 

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता खनालले बिहीबार सामाजिक सञ्जालमार्फत पत्रकार श्रेष्ठलाई रिहा गर्न माग गरेका हुन्र। समाचार लेखेकै विषयमा पक्राउ गर्नु उचित नभएको उनको भनाइ छ। 

‘प्रकाशित समाचारबारे छानबिन र आवश्यक कारबाही गर्ने सम्बन्धित निकाय नेपाल प्रेस काउन्सिल हुँदाहुँदै पत्रकारलाई पक्राउ गर्नु, कार्यालयमा छापा हान्नु, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य मान्यता विरुद्धमा छ,’ खनालले भनेका छन्। 

त्यस्तै, कांग्रेस नेता डा. कोइरालाले पनि सामाजिक सञ्जालमार्फत पत्रकार श्रेष्ठलाई पक्राउ गर्नु राम्रो संकेत नभएको बताएका छन्। ‘समाचार लेखेकै आधारमा पत्रकार किशोर श्रेष्ठलाई पक्रनु लोकतन्त्रको लागि राम्रो संकेत होइन,’ उनले भनेका छन्। 

डा. कोइरालाले पत्रकार श्रेष्ठलाई तत्काल रिहा गर्न आग्रह गरेका छन्। ‘पत्रकार श्रेष्ठको पक्राउ नेपालको संविधानले दिएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मर्म विपरीत छ,’ उनले भनेका छन्, ‘श्रेष्ठको अविलम्ब रिहाई गर्न र यस्ता लोकतन्त्र विरोधी गतिविधि नगर्न म सरकारसँग आग्रह गर्दछु।’

पत्रकार श्रेष्ठलाई बुधबार राति ललितपुरको कुसुन्तीस्थित निवासबाटै प्रहरीले पक्राउ गरेको थियो। 

प्रकाशित मिति: बिहीबार, साउन २८, २०८३  १२:४२
प्रतिक्रिया दिनुहोस्