सोसल मिडिया
युनिकोड
एनसेलले व्यवसायका लागि ‘एनसेल बिजनेस क्लाउडसुइट’ सेवा सञ्चालनमा ल्याएको छ। स्थानीय रूपमा समर्थित यो प्लेटफर्ममार्फत डोमेन दर्ता र व्यावसायिक वेब होस्टिङ सेवा एउटै ठाउँबाट लिन सकिने कम्पनीले जनाएको छ।
एनसेलका अनुसार सेवा नेपालभरिका व्यवसाय, स्टार्टअप, उद्यमी, शैक्षिक संस्था तथा विभिन्न संघसंस्थालाई लक्षित गरिएको हो। यसमार्फत ग्राहकले डोमेन दर्ता, वेबसाइट होस्टिङ तथा आफ्नो अनलाइन उपस्थितिको व्यवस्थापन गर्न सक्नेछन्।
क्लाउडसुइटमा डोमेन नवीकरण, ट्रान्सफर सहयोग, डीएनएस व्यवस्थापन, डोमेन फर्वार्डिङ, सबडोमेन व्यवस्थापन तथा केन्द्रीकृत डोमेन प्रशासनलगायत सुविधा उपलब्ध छन्। कम्पनीले व्यवसायको आवश्यकता र विकासको चरणअनुसार दुईवटा वेब होस्टिङ प्याकेज ल्याएको छ।
बेसिक प्याकेजको मासिक शुल्क १ हजार रुपैयाँ तोकिएको छ। यसमा ३ जीबी साझा स्टोरेज, व्यावसायिक इमेल खाता, एसएसएल सर्टिफिकेसन, स्वचालित ब्याकअप तथा सुरक्षा सुविधा समावेश छन्।
त्यस्तै, बढ्दो डिजिटल आवश्यकता भएका व्यवसायलाई लक्षित प्रो प्याकेजको मासिक शुल्क २ हजार रुपैयाँ छ। यसमा थप स्टोरेज र डेटा ट्रान्सफर, २० वटासम्म व्यावसायिक इमेल खाता, १० वटा डेटाबेस, पाँच वटासम्म सबडोमेन, एसएसएल सर्टिफिकेसन, स्वचालित ब्याकअप तथा सुरक्षा सुविधा उपलब्ध छन्।
कम्पनीका चिफ इन्टरप्राइज बिजनेस अफिसर डिओन एसेन्सिओले क्लाउडसुइटको सुरुवात नेपालका व्यवसायलाई बलियो र व्यावसायिक डिजिटल उपस्थिति बनाउन सहयोग गर्ने महत्वपूर्ण कदम भएको बताए।
उनका अनुसार डोमेन नाम र भरपर्दो वेब होस्टिङ डिजिटल यात्राको आधार भएकाले स्थानीय पूर्वाधार, नेपाली मुद्रामा भुक्तानी र नेपालमै डेटा होस्टिङको सुविधाले व्यवसायलाई डिजिटल सेवा प्रयोगमा थप सहजता र नियन्त्रण दिनेछ।
कम्पनीले क्लाउडसुइटको पहिलो चरणमा डोमेन र वेब होस्टिङ सेवामा केन्द्रित भएको जनाएको छ। डिजिटल क्षेत्रमा प्रवेश गर्ने धेरै व्यवसायका लागि यी सेवा आधारभूत आवश्यकता भएकाले पहिलो चरणमा यसलाई प्राथमिकता दिइएको एसेन्सिओले बताए।
एनसेलका अनुसार क्लाउडसुइटमार्फत वेबसाइट होस्टिङ गर्दा डेटा नेपालमै रहनेछ। यसले ग्राहकलाई आफ्नो वेबसाइटको डेटा तथा अन्य डिजिटल सम्पत्ति देशभित्रै राख्ने सुविधा दिने कम्पनीको दाबी छ।
नेपालमै डेटा राख्न सकिने सुविधाले व्यवसायलाई आफ्नो डिजिटल डेटामाथि थप नियन्त्रण कायम गर्न तथा नियामक आवश्यकताहरू पूरा गर्न सहज हुने एनसेलले जनाएको छ।
त्यस्तै, विदेशी मुद्रामा अन्तर्राष्ट्रिय होस्टिङ सेवा खरिद गर्नुपर्ने बाध्यता हटाउँदै क्लाउडसुइटमार्फत नेपाली मुद्रामै भुक्तानी गर्न सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।